गाजाका बालबालिकाको कारुणिक कथा
१ कात्तिक । प्यालेस्टाइनी समूह हमासले हमला गरेसँगै इजरायलले गाजामा आततायी आक्रमण गरिरहेको छ । उसले अस्पताल, स्कुलमा पनि बमबारी गरेको छ । गाजामा १५ वर्षको अवधिमा इजरायलले ठूलो हमला गरेको यो पाचौँ पटक हो ।२० लाख ३० हजार मानिस बसोबास गर्ने यस क्षेत्रमा बहुसंख्यक जनसंख्या १८ वर्षमुनिका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार त्यहाँका बालबालिका लगातार आघातमा बाँच्न विवश छन् । प्रत्येक ५ मध्ये ४ मा चरम निराशा, भयंकर त्रास र दर्दनाक दु:खको स्थिति रहेको त्यस संस्थाको सर्वेक्षण छ । तीमध्ये आधा बालबालिका आफ्ना दौँतरीको निधनका कारण आत्महत्याको सोचमा समेत पुगेको स्थिति छ ।
एक सातायता इजरायलले गाजामा गरेको हमलामा एक हजार भन्दा बढी बालिबालिकाको ज्यान गएको छ । बचेका बालबालिकाहरुको मानसिक स्थिति सही सलामत राख्न अभिभावकले हरसम्भव कोशिस गरिरहेका छन् । आफ्नो बच्चाको हविगतबारे अभिभावक जाबर हज क्वेसी भन्छिन्, ‘मेरो बच्चा निकै त्रस्त छ । कुनैपनि आवाजमा ऊ भयभित भएर उफ्रिन्छ । कसैले अलिकति ठूलो स्वरमा मजाक गरेपनि उसले सहन सक्दैन । हरपल म उसलाई यो युद्ध अन्त्य हुन्छ भनेर सम्झाउने कोसिस गर्छु ।’
आफ्नो छोरालाई शान्त पार्न निम्ति उनी आफ्नो बच्चालाई युद्ध अन्त्यपछिको योजना सुनाउँछिन् । आफूले सुनाउने योजनाले यो कठिन घडीमा बच्चालाई हौसला दिनसक्ने अपेक्षा क्वेसीले राखेकी छिन् ।
आततायी हमलाले कुन बेला आफ्नै ज्यान जाने हो टुंगो भने छैन । क्वेसी भन्छिन्, ‘क्षेप्यास्त्रले चारैतिर क्षतविक्षत छ । पल-पलका धमाकेदार आवाजले हाम्रो आवास र आत्मविश्वास एकैसाथ हल्लाइरहेछ ।’
क्वेसीले आफ्ना बच्चालाई एक्लै नछोड्ने भरोसा दिलाएकी छिन् । क्षेप्यास्त्रको प्रकाशसँगै आउने धमाकेदार आवाजको सामना कसरी गर्ने भन्ने तालिम उनले आफ्ना बच्चालाई दिएकी छिन् ।
आमाको तालिमकै कारण १० वर्षीय ओमार दक्षिणी शहर रफाह अहलममा सुत्दा आफ्नो हत्केलाले दुबै कान थुनेर सुत्छन् । ‘मैले जोगिन उनलाई तयार गरेपनि मलाइ डर छ मेरो छोरो जिन्दगीभर त्रसित हुनसक्छ । हमलातर्फ उसको ध्यान नजाओस् भन्नका लागि हरसंभव प्रयत्न मैले गरिरहेछु । तर क्षेप्यास्त्र र बमका आवाज सुन्न मेरो छोरो विवश छ’, क्वेसीले भनिन् ।
वदी आफ्ना बालबच्चासँगै एउटै कोठामा रहन्छिन् । उनका पतिले छोराछोरीको ध्यान हमलातिर नहोस् भन्नका निम्ति आफ्ना बाल्यकालको अवस्था सुनाउँछन् । ‘सानैदेखि आफूले पनि यस्तै आवाज सुन्दै आएको तर निडर र आत्मविश्वासका साथ यस्तै परिस्थितिको सामाना गरेको सुनाउँछन् । मेरो सात वर्षीय छोरा साहिदले पनि मलाइ मेरो बहादुरीबारे प्रश्न गर्छन् । म उसलाइ आफ्नो बहादुरीका पल सुनाउँछु’, उनले भनिन् ।
वर्तमानमा सन्तानलाई आत्मविश्वाशिलो बनाउने हर यत्न गरिरहेका अभिभावक भविष्यमा आफ्ना सन्तति गहिरो तनावमा जानसक्ने चिन्तामा छन् । ‘अहिले त हामीले उनीहरुको मनोबल बढाउने काम गरिरहेछौँ । तर भविष्यमा उनीहरु चरम निराशामा पुग्ने चिन्ता हामीलाइ छ’, वादीले भनिन् ।
गाजा शहरमा बस्ने मनल सलिमका अनुसार उनी उनका तीन बच्चालाई हररात हजुरबुवा हजुरआमासँग कुराकानी गराउँछिन् । यस्तो अवस्थामा हजुरबुवा हजुरआमा कसरी रहन्थे ? डराउँथे वा निडरतापूर्वक रहन्थे ?
यस्ता प्रश्नको जवाफ हजुरबुवा हजुरआमाबाट सुनाएर बच्चाहरुको आत्मबल बढाउने काम गर्थे । उनीहरुका हजुरआमाले भन्थिन्, ‘यस्तो अवस्था क्षणिक हो । यो समय टर्नेछ । युद्ध अन्त्य भएपछि खुशी भएर अघि बढ्नेछौं ।’
बच्चाहरु भन्थे, ‘तपाईंहरु सुरक्षित हुनुहोस् है । हामी तपाईंहरुलाई औधी माया गर्छौँ । युद्ध अन्त्य भएपछि हामीसँगै बसेर खुशी मनाउनुपर्छ ।’
सलिमकी ५ वर्षीय छोरी माइलाई अलग हुनुको चिन्ता छ । अल सिफा अस्पतालको आकस्मिक कक्षमा काम गर्ने उनका पिता हरेक रात घर आउन सक्दैनन् ।
‘कतै बुवालाई क्षेप्यास्त्र त लागेन । उहाँ किन घर आउनुभएन’, उनी सोध्छिन् । सलिमले सबैकुरा ठीकठाक रहेको आश्वस्त बताउँदै बलियो हुन प्रेरित गर्छिन् ।
आश्वस्त पार्नका निम्ति उनले छोरीलाई बुवासँग टेलिफोनमा कुरा गराउन खोज्छिन् । तर आकस्मिक कक्षमा घाइतेहरु खचाखच हुने भएकाले बुवाले छोरीसँग कुरा समेत गर्न भ्याउँदैनन् ।
खान युनिसमा बस्ने रावन्द खाल्फ आफ्ना पाँच, नौ र चौध वर्षका बच्चालाई विभिन्न खेल खेलाउँछिन् । ‘उनीहरुलाई म कुनै न कुनै खेलमा व्यस्त राख्छु ताकी उनीहरुको ध्यान बमको आवाजतर्फ केन्द्रित नहोस् । हामी सुरक्षित रहेको आभास उनीहरुलाई दिलाउँछु’, उनले भनिन् ।
टिप्पणीहरू