काठमाडौँ, १४ — अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच सोमबार वासिङटन डीसीमा भेटवार्ता भएको छ ।

 

उनीहरुबीच द्विपक्षीय सम्बन्धका साझा हितका साथै साझा सरोकारका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भएको उल्लेख गरेको छ ।‘भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र गहिरो बनाउने प्रतिबद्धता नवीकरण गरेका थिए,’ नेपाली दूतावासले  जारी विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालका लागि नयाँ निर्यात योग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटीपीपी) र जेनरलाइज सिस्टम फर प्रिफरेन्स (जीएसपी) सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरे ।

 

मन्त्री साउदले अमेरिकी सहयोग युएसएआईडीमार्फत हालै अमेरिकी सहयोग र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए । दुवै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपालले लोकतान्त्रिक शासनको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिका नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए । ‘ब्लिन्केनले परराष्ट्रमन्त्री साउदलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्षले बहुपक्षीय क्षेत्रमा नेपाल–अमेरिका सहयोग, पश्चिम एसिया (मध्यपूर्व)को वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा साझा चासोका अन्य विषयमा पनि विचार आदानप्रदान गरेको दूतावासले जनाएको छ । उक्त भेटवार्तामा आफूले इजरायलमा हमासको आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति समवेदना व्यक्त गरेको पनि विदेशमन्त्री ब्लिन्केनले ट्वीटमार्फत जानकारी दिएका छन् ।

भेटपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले दुई नेताबीचको भेटवार्तामा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएका छन् ।

मिलरले दुई मन्त्रीले भर्खरै कार्यान्वयनमा गएको एमसीसीको चर्चा गरे र त्यसबाट पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत् व्यापारलाई समर्थन गर्ने कुराकानी गरेको उल्लेख गरेका छन् । उनले दुई मन्त्रीहरुले नेपालमा अमेरिकी पिस कोर स्वयंसेवीहरूको सेवामा ६० वर्षभन्दा बढीको साझेदारीको पनि प्रशंसा गरे । साथै, उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई एक सय २५ मिलियन अमेरिकी डलर (करिब १२ करोड ५० लाख) ऋण दिने सहमति भएको उल्लेख गरेका छन् ।

उक्त द्वीपक्षीय भेटवार्तामा नेपालका तर्फबाट मन्त्री साउदसँगै राजदूत श्रीधर खत्री र परराष्ट्र मन्त्रालय र नेपाली दूतावासका उच्च अधिकारीहरु सहभागी थिए । साथै, अमेरिकाको तर्फबाट मन्त्री ब्लिन्केनसँगै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसन र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी पनि थिए

 

 

 

 

 

 

 

 



टिप्पणीहरू

सम्बन्धित समाचार